जय सिया राम / कविता

जय सिया राम !

न सत्ता तिम्ले छोड्न सक्छौ,

न मोह तिम्ले त्याग्न सक्छौ

पैसा सँग मानवता बेच्छौ ,

न ईमान छातीमा राख्न सक्छौ।

बस् लेख्छौ ठुला ठुला शब्द थुपारी

तिमी आफै न्याय व्यापारी

के तिम्ले पनि भाव बिभोर निजी स्वार्थ फ्याँक्न सक्छौ?

कालो चस्माले पापी आँखा

ढाकेर कलङ्क लुक्दैन

अंशकै लागि बाउ मार्नुलाई

अधिकारको दफाले छोप्दैन।

धन धन धन र धनकै लागि ,

धर्म त्यागी , भाग्दै गर,भाग्दै गर

मसान भन्दा पर कोहि जीव सजिव यहाँ भाग्दैन।

हे पुरुष,

आमाको काखभन्दा पर-पर

परम सुख खोज्दै-खोज्दै

तिम्ले पनि त आमाको अर्थ जानि-नजानी मारेकै छौ।

कुन युद्दको बिजय र्याली हो यो

मर्यादामा त हारेकै छौ।

अझै पनि हरेक साँझ जय श्री राम गुहारेकौ छौ

अझै पनि हरेक साँझ जय श्री राम गुहारेकै छौ।

झुठो वाणी , झुठो रुप ,

शृङ्गार छ तिम्रो सबथोकमा

बस् सुन्दर देख्न

ऐनामाथि झेली गरि ,आँखामाथि छारो हाली

मनको दया मनको आभा सब च्याती

सुन्दरताको भ्रममा हरदिन रमाउँदैछौ

संस्कृतिको हाँगा भाँची, कस्तो डाँठ समाउँदैछौ।

क्षणभरको सु:खमा युगौ युगको धर्म त्यागी

देहको प्रचार नै अधिकार र उपचार ठानी

तर बस् यतिमै जननी हुनुको परिभाषा लतार्दैछौ।

पश्चिमको किताब त रट्टा मार्यौ,

पुर्वीय दर्शनलाई किन चुत्था ठान्यौ

आफ्नो आत्मसम्मान कहाँ राख्यौ

लाजको भान कहाँ फ्याँक्यौ

बलियो हुने होडबाजीमा आफ्नो महात्मा कति जान्यौ?

हे नारी,

प्रतिज्ञामा तेल हाली बफादारीमा झेल गरी

प्रेमको झुठो नाटक मन्चन - पवित्रतामा हारेकै छौ।

सम्बन्धको नि धर्म हुन्छ,

प्रेमको नि आफ्नै कर्म हुन्छ

तिम्ले पनि त जानि नजानि नारित्वलाई मारेकै छौ।

अझै पनि हरेक साँझ जय सिया राम पुकारेकै छौ

अझै पनि हरेक साँझ जय सिया राम पुकारेकै छौ।

कलियुगमा सीता खोज्ने राम को छ?

कलियुगमा राम खोज्ने सीता को छ?

"राम" जस्तो राम को छ?

"सीता" जस्तो सीता को छ?

अझै पनि हे मानव मंदिर मंदिर धाएकै छौ

रावण जिताउन नयाँ रामायण बनाएकै छौ।।

अझै पनि हरेक साँझ जय सिया राम गाएकै छौ॥

२०८१/१२/२४

Comments