एक अपरिपक्व प्रेम (An Immature Love ) / कथा

एक अपरिपक्व प्रेम

(२०७७/०३/१७ मा प्रकाशित कथा)

•••

उज्यालो दिन छ।अाकाश यति बिघ्न उघ्रेको छ कि घाम टिलिक्क टल्केको छ।यो शहर बन्दै गरेको गाउँ हो तर बासिन्दाहरुले अाफुलाई शहरियाको दर्जा दिइसकेको अवस्था छ।अग्ला घरहरु सुनसान छन।होचा घरहरुमा एकाध मान्छे र लस्करै धोएर सुकाएका कपडा देखिन्छन।केही बच्चाहरु खेल्दा चिच्याएको अावाज सुनिन्छ।अन्यथा शान्ति छ,मौसम अाफ्नै सौकौमार्यमा मदहोश जस्तो देखिन्छ।

तर एक्कासि,एकदम एक्कासि बाटै बाटो भयानक खोला बग्दै अाउँछ।बग्दै अाइरहेछ ढुङ्गामुढासहितको बाक्लो भेल।भेलमा बग्दै अाइरहेछन जरा सहित उप्रेका ठूला ठूला रुखहरु ,चट्टानका चोक्टाहरु,माटाका ढिस्काहरु,मकैका डाँठ,फर्सिका बेलाहरु,गाइबस्तुहरु,कुकूरहरु,मान्छेका लत्ताकपडा,भाँडाकुँडा र स्वयम् मान्छेहरुपनि चिच्याउदै,कराउँदै।अग्ला घरहरुबाट सुकिला मानव अमानवताका खित्का छोड्दै हासिरहेछन,त्यो अार्तनादको नाच देखेर।बडा रमाईलो लागिरहेछ उनीहरुलाई यो दृश्य।कोहि छन् जो सहानुभूतिका नजरहरुले डाम्दैछन।

भेल उ भएको तिरै बग्दैछ।दुई धुमिल अाकृतिहरु हात तन्काउँदै बग्दै अाइरहेछन।उनीहरु उसेैको नाम बोलाउँदैछन तर उसले भने तिनलाई ठम्याउन सकिरहेको छैन।को हुन ती? खेै को हुन जो मलाई बोलाइरहेछन्? सोही भेलमा बग्दै अाइरहेकि छे 'भावना' पनि।उनको अाँखामा सन्त्रास भने उसले टाढैबाट देख्न सक्छ।

अरे भावना!!

उ बल्ल तर्सियो।उसको हृदयमा बल्ल कोलाहल बज्यो,अत्यास उब्जियो।उ यताउतिका ढुङ्गाहरु बाटोमा थुपार्न लाग्यो।उ त्यो बाढि त्यहि रोक्न चहान्छ।उ बग्न दिन चहान्न उसको प्रेमिकालाई,उसको प्रेमलाई ।थुपार्दा थुपार्दै ढुङ्गाहरु भेल नजिकै पुगिसक्यो।उ भागेर पनि कहाँ जाने?भावनालाई छोडेर पनि कहाँ जाने? उ निरीह रह्यो। गढकिदै अाएको भेेलले लौ बगायो उसलाई पनि,उसले भावनाका हात समात्नै सकेन।समात्नै सकेन!दुवै बगे, बगिरहे...

उ झसक्क झस्किँदै बिउँझियो।उसको शरिर पसिनाले भिजेको छ।पसिना चिउँडोबाट गर्धन हुँदै छातीमा प्रस्ट देखिने करङतिर बग्दै छ। पृष्ठभूमिमा मोबाइलको अलाराम बजिरहेको छ।उसले मोबाइल समात्यो,अलराम अफ गर्यो। बिहानको सात बजिसकेको छ।पाँच बजेको अलराम स्नुज हुँदै बजिरहन्छ संधै यसरि नै तर कानहरुलाई त्यो पचिसक्यो-मस्तिष्कले रियाक्सन नै पठाउँदैन।

उ रातभरी सुत्न सक्दैन।उ ईनसोम्नियाबाट ग्रसित छ।खाटमा छट्पटिन्छ,अोलटिन्छ-पल्टिन्छ,उठ्छ,कोठाको चक्कर लगाउँछ,कुर्सिमा बस्छ,मोबाइल थमाउँछ,इनटरनेटमा झन डिप्रेसन ब्याप्त छ,दिक्दारिन्छ,फेरि खाटमा बस्छ,पल्टिन्छ,खुइइ-खुइइ कराइरहेको पङ्खा हेर्छ,टोलाउछ,अाफै-अाफै अाशुहरु बलेशीं हुँदै सिरानीमा तप्किन्छन्।उसले बिर्सिन खोज्दा खोज्दै पनि सम्झनाले डेरा छोड्दैन।हुन त यहाँ बिर्सनु उसैलाई छ जसलाई बिर्सनै सकिँदैन।

एकदमै खराब गन्ध उसको नाकका पोराहरुमा ठोक्किन पुग्छ।गन्ध पूरा कोठा भरि फेैलिएको छ। दूषण वास्नाले उसको छाती भरिएर अायो,नशाहरु चिरिन थाले,पेट बाउँडिएर मुख सम्म पुग्यो।छि: यस्तो नराम्रो गन्ध उसले कहिल्यै सुँघेको थिएन।शायद कसैको अाङ बयल्लिरहेछ।अतिशय भएपछि उ हत्त न पत्त पुरानो मैलो टि-सर्ट घुसारेर बाहिरतिर हुत्तियो।एक लामो श्वास फ्याँक्यो,एक लामो सास लियो।बल्ल उसलाई रक्तसञ्चार भएको महशुस भयो।बल्ल अाँखा उघारेजस्तो भो।एक क्षणलाई मरेर अर्को क्षणमै सास फर्के जस्तो भयो। रातभरी उसलाई अनिन्द्राले च्याप्छ।जब अाँखा एकछिनलाई झपक्क हुन्छन,उसलाई त्यो बाढिले झँल्यास्स पार्दिन्छ।कहिलेकाहिं उसलाई एक युग नै सुतेर उठेको जस्तो लाग्छ भने कहिलेकाहिँ बग्दै बग्दै उ कतै अर्कै युगमा पुगेको जस्तो लाग्छ।तर ब्युँझदा उहि उस्तै समय लत्रिरहेको हुन्छ ढोकानेर। ती बकैना र टुडिंका रुखहरु त्यहि ठिङ्ग हुन्छन,मन्द तातो हावाले तिनका साना साना पातहरुलाई हानिरहेकै हुन्छ। अाज तिनको फेदमा सानोतिनो तलाउ नै छ।त्यो जमेको पानी यो अासार लागेपछि महिनाभरि कसै सुक्दैन।त्यस्माका भ्यागुताहरुको ट्यारट्यार उसले ब्युँझेर बाहिर निस्केपछि सुन्ने पहिलो अावाज हो।यो असार भ्यागुताहरुको दशैं हो।एक जोडि भ्यागुताहरु उफ्रदै घरभित्रबाट निस्कदै अाँगनमै जमेको पानीमा डाइभ हान्छन-छत्ल्याक्क। साला भ्यागुताहरुले त अाफ्नै घर ठानेका छन!

•••

"यो प्रेम भन्ने चिज बहुतै अजिबको रहेछ।अाजभोलि मलाई जुन महशुस हुन्छ नि,शायद यस्तो कहिल्यै भएको थिएन।मेरो मन रङ्गी बिरङ्गी चङ्गा भएको छ,उड्दै उड्दै कल्पनाको संसारमा पुग्छु जहाँ अङ्गालोभरी केवल खुशी छन।प्रिय भावना,म तिम्रो नजरको नशाले अटेसमटेस भरिएको छु।मेरो मन चोर्ने चोर के गर्दै छौ?" सुरतले सेन्ड बट्टन थिच्यो।

मेसेन्जरको मुटु ढुक ढुक भइरहेछ।रिप्लाई अाउन पनि कती समय लागेको,सुरतले सोच्छ।

"ए,प्रेम कवि।"मेसेज टुङटुङ बज्यो।

कति ढिलो कति छोटो रिप्लाई गर्छन केटिहरु।सुरतले लेख्यो,"प्रेममा त सबै कवि हुन्छन,भावना"

"खै म भइन त"

"तिमी भावना लुकाउनमा प्रफेक्ट छौ,भावना"

"ल कुनै कुरामा त प्रफेक्ट रहेछु।"

"अाँखाहरुले संकेत भने गरिरहरकै हुन्छन।"

"अाँखा लुकाउन सकिन्न क्यारे"

"अाँखा त निर्मल एेना हुन। अनि तिम्रा अाँखा अाफैमा प्रेम कविता हुन।"

"त्यसो भए म पनि कवियत्री,तर इमप्रफेक्ट कवियत्री"

"ए कवियत्री, मलाई तिम्रा सबै इमप्रफेक्सनहरु प्रफेक्टली मनपर्छन।"

"अरु के के मनपर्छन मेरो बारेमा?"

"तिम्ले कक्षामा डेढो अाँखाले मलाई हेरेको,के के सोचेर अाफ-अाफै मुस्कुराएको,हेरेक कुरा मनपर्छ मलाई।"

"सबैभन्दा बढि चहिँ?"

"म कुन बिशेषतालाई अल्ग्याएर विशिष्ट भनुँ"

"कुनै एक कुरा मात्र भनुपर्यो भने नि?"

"जब तिमी बुझेर पनि नबुझेझै गरेर 'हो र' भन्दै टाउको हल्लाउँछौ नि,त्यो रियाक्सन क्या हेर्न लायक हुन्छ,बडो कलात्मक एक्टिङ गर्छ्यौ"

"अोहो अब म कलाकार नि भएँ।"

"मेरो दिल जो नाट्यशाला बनाएकि छ्यौ"

भावनाले केवल इमोजीहरुको लस्कर जोडेर पठाइ।

"तिम्रो यो कलाकारिताको तारिफ म कसरी गरुँ।"

"जसरी सक्छौ,हाहा"

"मेरो लागि तिमी प्रेमको नयाँ परिभाषा बनेकि छौ"

"पुरानो परिभाषा चाहि को हो नी?"भावना सार्कास्टिक भइ।

"हाहा,पहिले मलाई परिभाषा नै अाँउदैनथ्यो"

"मलाई पनि त त्यस्तै भएको छ।जिन्दगी केवल एक ख्यालठट्टा हो,मीठो ख्यालठट्टा जस्तो लाग्छ।तिमी संग हुँदा लाग्छ जिन्दगी त एक पलमै बितिजानेछ।तिमीसंग घण्टौ कुरा गर्दा नि थोरै हुन्छ।"अलि समय लिएर भावनाले लेखी।

"लौ देख्यौ तिमीभित्रको कवियत्री नि जाग्यो।"सुरतलेे नि इमोजीहरुको लस्कर जोडेरेै पठायो।

"हाहा,यो सब तिम्रो प्रभाव हो।"

"तिम्रो बारेका जति लेख्दा नि थोरै हुन्छ भावना।"

"अनि तिम्रो कुरा जति सुन्दा नि अघाइदैन,सुरत।"

"तिमी मेरो लागि सबथोक हौ,तिम्रो लागि चाहिँ म के हुँ?"सुरतले सोध्यो।

"ल भयो धेरै प्रश्नोत्तर नखेलौ।घरमा बोलाउनु भयो म जान्छु।"

"छुट्टिनलाई कति हतार गरेकि,भोलि उहीँ पुरानो ठाउँ भेटौ ल।"

"भोलि भट्नलाई अहिले छुट्टटिनुपर्छ।बाई"

मुस्कुराउँदै सुरतले मोबाइल तल राख्यो।अचेेेल उसलाई उसको दैनिकि एक सुन्दर कल्पना जस्तो लाग्छ।यो नयाँ प्रेमको सुरुवाती साइडइफेक्ट होला शायद!

सुरतको घर बझाङ हो।उसका बुढा अामाबुवा गाउँमै खेतीपाती गर्छन।उ उच्च शिक्षाका लागि महेन्द्रनगर अाएको हो।यहाँ उ एक कोठा डेरा गरेर एक्लै बस्छ।उसको र भावनाको भेट कलेजमा भएको हो।उनीहरुको एकअर्काप्रति धरै नै समर्पित जस्ता देखिन्छन।कलेज,पार्क-उनीहरुको भेेेट लगभग सँधै हुन्छ।समयसँगै उमेर बढ्दै गयो,यौवन चढ्दै गयो,प्रगाढता नि बढ्दै गयो।कहिले उनीहरु बर्तमानमा रमाउँथे,कहिले दुबै भबिष्य कल्पिदै रमाउँथे।उनीहरु स्वच्छन्द थिए;प्रेममा लेखाजोखा,बाधा-बन्धन हुँदैन भन्थे।एकहिसाबले उनीहरु टिनेजरस् लभ जस्तो कल्पना मै ज्यादा रमाउँथे।बाँकि कुराहरुको पर्वाह उनीहरुलाई कमै हुने गर्थ्यो। प्रेम यहि त होला ।। सुरतलाई लाग्थ्यो उनीहरु सम्बन्धको यात्रामा कोसौ टाढा पुगिसकेँ र यो यात्रा अनन्त हुनेछ।तर समाजिक बन्धनका कुरुप काँडाहरुले च्वास्स घोचेपछि बल्ल सपनाबाट मान्छे ब्युँझिन्छ र वास्तविकताको सग्लो-अग्लो दिवारमा ठोक्किन पुग्छ।प्रेमको नि बिधान र मापदण्ड हुन्छ जस्तो भान भयो सुरतलाई जब भावनाको घरमा बिहेको कुरो उठ्यो।यो हरेक सम्बन्धयात्राको एक खुड्किलो हो जहाँ प्रेमीहरुको सम्बन्ध-समझ र सम्बन्ध-शक्तिको जाँच हुनेगर्दछ।त्यसमाथि हाम्रो समाजले विवाहलाई दुई जनाको मेल मात्र नभई दुई परिवारको मेल भनि केही प्यरामिटर निर्धारण गरेको छ।यसमा जात,वर्ण,ठाउँ,शिक्षा,बिचार,अार्थिक स्तिथी अादिको लेखाजोखा हुनेगर्दछ।

उनीहरुको सम्बन्धबारे भावनाको परिवारले सुइँको पाईसकेको अवस्था थियो।सुरतलाई भावनाका अामाबुवाले ठाडै अस्विकार गरिदिए।यहाँनेर अाइपुगेपछि बल्ल प्रेमले पात्रको पहिचान माग गर्यो र समाजले पहिचान नापिदियो 'जात'ले, 'अार्थिक स्तर'ले। उसलाई थहा भएन कि यो समाजमा मान्छेबिच पर्खाल छन् वा हुन्छन्। पर्खालहरुले अवरोध गर्छन जब दुई मन मिल्न खोज्छन्। सुरतका हर प्रश्नहरु, हर प्रयासहरु, भावनालाई प्रस्तावहरु निरीह हुन पुगे कमजोर सम्बन्ध र बलियो कुसंस्कार अगाडि।प्रेम घुँडा टेक्यो समाजिक ब्यवस्था अगाडि।

सुरतले हजारौ मेसेज पठायो र सयौ पटक भेट्ने प्रयास गर्दा नि भावनाले संवादको ढोका खोलिनन्-लाईक अ डेड म्यानस् हार्ट।उसलाई त्यहि बेला प्रेममा बिश्वास उठ्यो।भावनाको मौनताले उसलाई निहत्था बनायो लड्नलाई।यसरी उनीहरुको प्रेम अनुत्तिर्ण भयो परिस्थितिको परीक्षामा। यति भइसक्दा पनि सुरतका साथीभाई,परिवार भने अनभिज्ञ थिए।सुरतलाई यो दुर्घटना लाग्यो र एक्लोपनको महशुस हुन थाल्यो।

•••

उसलाई अचेल यो तराईको न घाम मनपर्छ न हावा मन पर्छ।उसलाई अचेल न सम्बन्ध मनपर्छ न समाज मनपर्छ।उससंग न प्रेममा बिश्वास बाँकि छ न सपनामा बिश्वास बाँकि छ।उ कसैको कुभलो नि चहादैन,न सदाशयता नै राख्छ।उसलाई भगवानसंग नि गुनासो छैन।उसलाई न्यायप्रति नि गुनासो छैन।उ अन्तहीन दु:खको कुवा बनेको छ।उसको हृदय चहानाशुन्य भएको छ।त्यहाँ केवल सन्नाटा छ- मुचुल्का उठाउन पनि केही बाँकि छैन।

पानीले भिजेपछि पखेटा फडफडाउदै बसिराछन एक जोडि सिन्टोलाहरु तिनै टुँडिका रुखमा।उ सोच्दैछ," यिनीहरुको समाजमा विभेद गर्न मिल्ने कुनै बिभाजन होला कि नहोला?चराले नि मिलन बिछोडको हेक्का राख्न सक्छ होला त?चाराको चित्त दुख्छ होला त?चरा पनि रुन्छ होला त?कास म पनि चरा भएको भए।हुन त हृदय भएरै हरेक प्राणी जिवीत छ।हृदय भैसकेपछि त्याँ भावनाहरु अवश्य हुन्छन नै।भावना भएपछि कुनै पनि संवेग महशुस गर्न सकिन्छ र प्रेम जो सबैभन्दा सुन्दर महशुस हो। वैज्ञानिक आइन्स्टाइनले ‘मान्छे प्रेममा फस्नुमा गुरुत्वाकर्षण जिम्मेवार छैन’ भनेजस्तै जोकोहि प्रेममा पर्न सक्छन्।प्रेम सभ्यता र संसारको अस्तित्व हो।फेरि किन यसले मलाई अाघात पुर्यायो।प्रेम चोट हो कि महलम हो?प्रेम शृजना हो कि विध्वंशक हो?"

उ एकतमासले तिनै चराहरुलाई हेरिरहेथ्यो।ती भुर्रर उडेर गएपछि बल्ल उसको ध्यान भङ्ग भयो।अाँगनमा जमेको पानी घट्दै जाँदैछ।दिन छिप्पिदै गएपछि यो पानीघामले गर्दा घर बाफिदै जान्छ।भित्र बस्नेहरु स्टिम हुँदै जान्छन्।मोमो बन्छन्। यो गर्मिदेखि पनि उ अाजित छ।

उसले सोच्छ "यी चराहरु पनि किन गर्मि खान यहाँ बसिराहोलान?पँखेटा भएपछि उडेर कतै डाँडातिर जानु नि!"उसलाई अाज उ वरिपरिका हरेक कुराले सोचमग्न बनाइरहेछन्।तर यी चराहरु त रमाइरहेकै जस्ता देखिन्छन।मुग्ध छन वातावरणदेखि।सोच्नु सोचिरहनु!उ सोच्नबाट अाफुलाई रोक्न सक्दैन।

उ एकपल्ट हातमा बाँधेको घडि हेर्छ।उ हातमा सँधै घडि लाईरहन्छ तर प्राय: समय हेर्नुपरे मोबाइल झिक्छ।यो मोबाइल मोहनीको समान्य उदाहरण हो।तर उसले अाज घडि हेर्यो;घडि त चलिरहेकै पो छैन।अाठ बजेको देखाइराछ-कहिलेदेखि बिग्रेको थहा छैन।तर "समय शायद ठिकै देखाइराछ", उसले सोच्यो,"बिग्रेको घडिले नि त दिनमा दुई पटक सहि समय देखाउँछ।"

"समयले अझैपनि घडिलाई प्रेम गर्छ।ती रुखहरु एक्ला छैनन्,तिनमा चराका गुँड छन।तिनका पातलाई स्पर्श गर्न हावा कति दूरदेखि बहदै अाउँछ।यो ताललाई भ्यागुताहरुले प्रेम गर्छन।मौसमलाई पर्यावरणले प्रेम गर्छ।घाम र बादल दिनभरि लुकाछिपी खेलिरहन्छन।यो प्रकृति प्रेमालय हो।प्रेम अविनाशी हो।सम्बन्ध असफल हुन सक्छ,प्रेमी असफल हुन सक्छन तर प्रेम असफल हुँदैन।मलाई चोट दिने प्रेम होइन,महत्वाकांक्षा हो।मलाई यो रुखले छाँया दिएर प्रेम गर्छ।मलाई यो बर्षाले गर्मिमा सितल दिएर प्रेम गर्छ।मलाई चराहरुले नि प्रेम गर्छन।मलाई भ्यागुताहरुले नि प्रेम गर्छन।यो ब्राह्मण्डले सबलाई उत्तिकै प्रेम गर्छ।प्रेम अझै अस्तित्वमा छ।म अझै भावनालाई प्रेम गर्न सक्छु।भावना अझै मलाई प्रेम गर्छे।जिन्दगीमा उकाली-अोरालीले जिन्दगी सिकाउँछ।जिन्दगीले अोरोह-अवरोहलाई पनि प्रेम गर्छ।"

उ सोचहरुको लहरीमा बेरिइरहेको छ।उसका सुस्केराहरु उ अाफैभित्र प्रतिध्वनित भइरहेछन्।उसको सबकन्सिअस मस्तिष्कमा एक चेत बल्यो।उसले देखेको सपनामा बग्दै अाइरहेका अस्पष्ट दुई अाकृतिहरु कोहि नभएर उसका अाफ्नै अामाबुबा भएको भान भयो।बग्दै अाइरहेका मानिसहरु उसका अाफन्त,साथीभाई,शुभचिन्तक भएको एक चित्र उसको अाँखामा छापियो।उसका अाँखाबाट दुई थोपा अाँशु तपक्क तप्किए। उसले बल्ल महशुस गर्यो उ अाफ्ना गोडामा थकान बिसाएर,मनमा नैराश्य थन्काएर उ स्वप्रेम पतीत गरिरहेछ।उसले बल्ल अाफैलाई सुन्यो।

उसले महशुस गर्यो उसको पेट भोकले क्याउँक्याउँ गरिरेछ।उसले केही दिन देखि केही खाएको थिएन।उसको भोक हराएको थियो।उसले एक थोपा पानीसम्म पिएको थिएन।उसको अाँत भरभराउन थाल्यो,मुख घाँटि प्याकप्याकि भए।यो महशुस उसलाई बल्ल भयो। "प्रेेेम बहुअायामिक छ तर हामी त्यती मात्र ठिक ठान्छौ जति हाम्रो दिमागलाइ लाग्छ र त्यति मात्र सोच्छौ जति मनले सोच्न चहान्छ।"" जिन्दगी ठुलो छ-अाकाश जस्तै। यसमा जून मात्र छैन,सूर्य पनि छ। रात मात्रै छैन, दिन पनि छ। म त उसको मात्र होइन। न त म मेरो मात्र हुँ। म त सबको हुँ जो म सँग सम्बन्ध राख्छन्। म विगत र वर्तमानको मात्र होइन। म त भविष्य को नि हुँ।"

उ सोचहरुले भनभनिँदै घर भित्र पस्यो।किचनर्याक तिर केही छ कि भनि खोज्यो।तर कोठाभित्र केवल खराब गन्ध फिँजिएको थियो।त्यसैबेला उसको खुट्टा एक खाली सिसिमा ठोकियो,ट्वाङ्ङ अावाज अायो।दुई अौँलाले नाक थिच्दै उसले त्यो सिसि उठाउनै लाग्दा खाटमा लम्पसार पल्टिरहेको अाफ्नै ज्यानलाई देख्यो।मुखबाट बगेको फिज सुकेर गालामा ट्याम्म टाँसिएको थियो।थरथर काँप्दै उ नजिक गयो।उ त अाफुलाई अाफै डुङ्डुङ्ग्ती गन्हाइरहेको रहेछ।

उ त अाफुलाई अाफेै गन्हाइरहेको रहेछ।

#repost#

©निरज पन्त

THERES MORE TO LIFE...

Comments

Post a Comment