लहडबहादुर / कविता

उधारोमा चार पेग गोल्डेन वक पिएपछि

डाक्टर लहडबहादुर रिसाउँदै साहुनीलाई सुनाउनुहुन्छ:-

"यहाँ हावामा धुवाँ, धुलो र बद्नियतको वास मात्र छ

प्रेमको बास्ना प्रेमीसम्म नपुग्दै गन्ध भैसक्छ।

यहाँ पानीमा कस, ढल र छल मात्र छ

वारीको सद्दे वाचा पारी पुग्दा किर्ते भैसक्छ।

यहाँ आवाजमा भद्दा शृङ्गार, चर्कुलो र कपट मात्र छ

मुखको जय श्री राम , ब्यवहारमा रावण भैसक्छ।

यहाँका हातहरुमा मुडे शक्ति, भुँडे लालच र अन्ध भक्ती बराबर छ

भगवानको न्यायालयलाई पुण्य र पाप छुट्याउनै सकस छ।

यहाँ समाजलाई राजनीति चोर लाग्छ

राजनीतिलाई समाज भेडाको खोर लाग्छ।

मान्छेलाई पैसा देख्यो कि भोक लाग्छ

मौका देख्यो कि पैसा लाग्छ।

खुट्टालाई टाउकोको डाहा लाग्छ

टाउकोलाई खुट्टा त गधा लाग्छ।

पाखुरालाई भुँडिको रिस लाग्छ

भुँडिलाई पाखुराको बिष लाग्छ।

त्यसैले त

यो तित्रो जत्रो देशमा

बुद्दलाई समेत ऐक्जिसटेन्सियल क्राइसिस भएको अवस्था छ

बिष्णुलाई समेत ऐक्युट डिप्रेसन भएको अवस्था छ।"

न हावा न पानी

न धर्ती न आकाश

न तिमी न म

यहाँ जम्मै बिरामी भएको अवस्था छ।

त्यसैले त टिकटक लाईभ मार्फत

डाक्टर लहडबहादुर

सबैलाई दिनको तीन डोज अलकत्रा प्रिसक्राईब गर्नुहुन्छ।

©लहडबहादुर

Comments