भृकुटिमण्डप / कविता

भृकुटिमण्डप *****

बिहान

घरवेटिका बच्चाहरु फुटबल लिएर आईपुग्छन्

घरवेटिहरु दौड्दै पुक्क परेको भुँडि लिएर अाइपुग्छन्।

अलि घाम झुल्केपछि

खाली चौरमा कुर्सिहरु ठडिएपछि

बिहानै जागिरमा घोटिनेहरु चिया चुरोट पिउन अाइपुग्छन्।

बिस्तारै भीड बढ्दै जान्छ

बर्षौदेखि लोकसेवाका किताब झोलामा बोकेर राजनीतिका गफ छाँट्नेहरु आईपुग्छन्

सहकारीको कार्ड भिर्दै पसल पसलमा पैसा उठउनेहरु आईपुग्छन्

एक गिलास "दूध कम पानी बढि" भएको चियाको भरमा कुर्सी ओगट्दै देश बनाउँछु भन्नेहरु आईपुग्छन्

भर्खर दर्ता भएको फलानोवादि दलका अराजनीतिक अल्लारेहरु गफ बाँड्न आईपुग्छन्।

सुर्य ढल्दै जान्छ

तर कुर्सिहरु खाली हुँदैनन्

नमाझेको ताप्केमा चिया उम्लिदै गर्छ

नमाझेको तावामा चाउमिन फ्राई हुँदै गर्छ

हजारे अड्डाका सर्ट पाईन्टहरु फेरि छैटो राउन्डको चिया पिउन आइपुग्छन्।

यहाँ आईरहन्छन् विदेश जान नसकेका नेपालीहरु

यहाँ आईरहन्छन् स्टकमा पैसा हालेर नेप्से बढ्ने दिन कुरेर बसेका नेपालीहरु

यहाँ आइरहन्छन् सरकारी क्याम्पसमा स्ववियु चुनावमा भोट हालौला भनेर भर्ना गर्ने विधार्थीहरु।

यहाँ आईरहन्छन् जुत्ता चप्पलहरु

चौबिस घण्टा,सात दिन,३६५ दिन कोहि न कोहि आईरहन्छन्

यहाँकै मेलामा किनेको गोल्डस्टारको जुत्ता लगाएर

आज म पनि बिहानै आईपुगे।

©निरज २०८०/०५/१६

Comments