अस्तित्व संशय / अकविता

"अस्तित्व संशय"

•••

उसको झ्याल अघिको बिजुलीको तारको नृत्यशालामा रमाउने भँगेरा भँगेरीहरु,

उसको दृष्यमा क्यान्भास बनी छापिएका पलास्टरका पाप्रा उप्किएका भित्ताहरु,

उसको हाजिरीमा एक थोप्लो थप बाक्लिएको त्यो घचारो यो बिरानो नगरीमा,

उसले हरेक सन्ध्यामा एकलट नियाल्ने गाडिका फ्रन्ट लाईटहरुको झिलीमिली,

उसले हरेक बिहान एकलट नियाल्ने काममा हिडेका मान्छेका हस्याङफस्याङ,

चिया पसलमा उसलाई पर्खिरहने खल्लो चियाका अाधाअाधी गिलासहरु,

उसका उच्छवासहरुको एकल श्रोता त्यो उध्रिएको पुरानो सिरानी,

उसका चिसा पैतलाहरुसँग क्रुद्ध त्यो पुरानो मैलिएको सिरक,

ल्यापटपको फोल्डरमा दर्शक कुरिरहेका ज्ञात-अज्ञात सिनेमाहरु,

कुनै अपरिचित अौर गालीवले उसलाई समर्पण गरेका रेख्ताहरु,

फुस्रा मजाकहरुको पर्दाभित्र गुन्जिरहेको मेलानकोली,

निराकरण हुन नसकेका बर्षौपुराना स्वगुनासाहरु,

माँझ्न बाँकि भाँडाहरु, धुन बाँकि लुगाहरु, पढ्न बाँकि किताबहरु, सुन्न बाँकि अावाजहरु, हिड्न बाँकि गल्लीहरु, सहन बाँकि स्थितिहरु, तोड्न बाँकि थितिहरु, बग्न बाँकि अाँशुहरु, अभिनित हुन बाँकि हाँसोहरु,

यी सब जानअनजानका भौतिक सम्बन्धहरु

यी सब असम्बन्धित भएर पनि सम्बन्धितहरु,

के होला है के होला खै अाखिरीमा 'निरज' थाकेको दिन?

Comments

  1. Big fan daju big fan

    ReplyDelete
  2. दाजु कसरी म नि तपाईं जस्तै लेखु भन्दिन पर्यो🌻🌻🌻खत्रा छ दाइ तपाईं को लेखाइ मन पर्छ मलाई एकदमै

    ReplyDelete

Post a Comment