माइक्रोबसको अन्तिम सिट / कविता


 



माइक्रोबसको अन्तिम सिट 


•••


उ फर्किदै होला 

उसको गुँड तर्फ 

दिनभरिको थकान बोकेर

खोज्दा खोज्दै नभेटेर कागजको मूल्य

हिड्दा हिड्दै पनि नपुगेर उसको सपनाको संसार

उसलाई पनि थहा भएन होला शायद

सोचेकोझै हुँदैन हिड्नुपर्ने बाटो

चाहेकाझै हुँदैनन् यात्राका पटकथाहरु !


वा उ जाँदै होला

उसको पहिचानको खोजिमा

बर्षौभरिको अाशा र धैर्यता बोकेर

कसैलाई भट्न 

कसैलाई पाउन

कतै पुग्न !


सबैभन्दा नजिक हुनेगर्छ पिठ्युँको झोला

जसले भोगेको हुन्छ गर्धनबाट चुहिएका पसिनाका धारा

अनि नजिक हुन्छ रातको साथी सिरानी

जसले सुनेको हुन्छ हजार प्रार्थनाहरु

जसले देखेको हुन्छ हजार अनिँदा प्रहरहरु

सबैभन्दा टाढा त अाफू नै हुन्छ अाफैसँग

जसलाई भेट्न उ कुरिरहेछ कुरिरहेछ कुरिरहेछ !


अाज पनि सम्झिरहेछ होला एक प्रेमी

उसले गाउने गरेका युगल भाकाहरु,

अाज पनि अात्तिरहेछ होला एक परिक्षार्थी

उसलाई अाउने उत्तर र अाज्ञात प्रश्नहरुबिच,

अाज पनि गरिरहेछ होला एक महोत्वकांक्षी

चाहना र सपनाहरुको हिसाबकिताव,

अाज पनि सोचमग्न छ होला एक भिक्षु

छुट्याउँदैछ होला सन्देह र सत्यहरु,


उ सकैको 'बा' होला

कसैको 'मा' हुन सक्ला

कसैको 'छोरो' हुन सक्ला

कसैको 'छोरी' हुन सक्ला

या हुन सक्ला अबला देशको अनाथ नागरिक

अाज पनि पक्कै टोलाइरहेछ होला

एक स्वप्नदर्शी

माइक्रोबसको अन्तिम सिटमा।


©निरज

२०७८/०५/२२

Comments

Post a Comment