रमिते/कविता

रमिते
*****

कालो कित्लीको चिया सिसाको गिलासमा
गफहरु चोप्दै मैले बडै समय जलाएँ
कालो चस्मा हातले हल्का उठाउँदै
तरुनीहरुलाई सिट्टि मार्दै एक मात जलाएँ
श्री'हरुको फ्रिमा बख्याँइ चुट्दै
चुनाबमा अाफ्नोसँगै दुईचार अरु भोट जलाएँ
अवैध सम्बन्धका सुँइका सारेर 
केहिका धोती-सुरुवालका गाँठो जलाएँ
बेफँवाक उडाउँदै धुँवा तानिसकेपछि
बचेको ठुँटो फाल्दै मैले जँगल जलाएँ
धर्मे र कर्मेका गडाका साँध उचाल्दै
मित-मितिनीका बिचको बोलचाल जलाएँ

अाफ्नो ब्यथा म गाउँलेको उस्तै छ फेरि
माटोको चिउरा कहिले भुसको रोटि
खोलो तताएर बाफले अाफ्नो भोक जलाएँ
फेरि पनि लुकाउँदै थालको अालु 
पेडाको फुर्ति चलाएँ

थहा छैन खै किन कहिल्यै मुग्लान भासिएन म
गाउँकै चौतारीमा कुरा काट्दै
अरुले दिएको थोरै चाट्दै
यो भन्ज्याङको डाँको बन्दै बाँच्दै गए म।
म रमिते-रामबहादुर नेपाली
गाउँको एक्लो जन्ती,एक्लो मलामी॥

©निरज
२०७७/०४/०२



Comments