दु:ख /"कविता"

"मसान" भन्ने हिन्दी चलचित्रमा
एक डाइलग थ्यो
"ए दु:ख काहे खत्तम नहि होता वे?"
****

एक जीवनमा मान्छे जति पटक खुशी हुन्छ नि
त्यो भन्दा चौगुणा पटक दुखी हुन्छ हो?
नत्र किन दुनियाँ देख्ने अाँखा भित्रै अाशुँको ग्रन्थी हुन्थ्यो?

पाठेघरमा बच्चा तब सम्म बस्ने रैछ
जब सम्म उसले जन्मदा अामालाई दिनुपर्ने
पर्याप्त दुख जम्मा गर्दैन
र उ जन्मने बितिक्कै रुन्छ
किनकि उसले थहा पाउँछ
अबदेखि उसले दुख बटुल्नु पर्दैन
अाफै जम्मा हुन्छ।
मान्छेले खुशी खोज्नु पर्ने रैछ दु:ख खोज्नु पर्दैन।

कहिलेकाहिँ लाग्छ
पीर मिसिएपछि मात्र अक्सिजन श्वास बन्छ!
नत्र किन सदा खुशी जस्तो देखिइ रहनेहरुको श्वास सबैभन्दा पहिले रोकिन्छ?

भाग्यमा खुशी लेख्दा नि भगवानले
प्रयोग गर्ने कलममा दुखकै मसि हुन्छ होला
यो दु:ख यस्तो छाँया हो जुन अध्याँरोमा पछि पछि नै हुन्छ,
दु:ख सबै संग हुन्छ बढि या कम हुन सक्ला;
दु:ख बाँड्न सकिँदैन
बस अधिक गहिराई बाट झिकेर अलि कम गहिराइ सम्म पुर्याउन सकिएला
दु:खलाई स्विकार गरेर जहाँ सम्म हिड्न सकिन्छ नि त्यत्ती त हो रे जीवन।

बस्
दु:ख दाँतको चमकमा देखिनुपर्थ्यो
अनि सबका दाँत पहेंला देखिन्थे
त्यसपछि मान्छेले कमसेकम
छाती भित्र उदासी गाडेर
जबरजस्ती मुस्कुराउनु त पर्दैनथ्यो होला।

यहाँ हरेक व्यक्ति अाफ्नै समाधी माथि उभिएर पुन: एक मृत्यु कुरिरहेछन
जुन मृत्युपछि उसले अरुको मृत्युमा शोकाकुल हुनु पर्दैन।

©निरज पन्त
२०७६/१०/१९

Comments

  1. if it would have been said in front of me ... I would have given you standing ovation #mitra NIRAJ JOSHI kabita yauta sagar nai rahecha ... jati dubna kojyo teti nai dubauna khojney

    ReplyDelete

Post a Comment