"यो दिन पनि"/कविता

"यो दिन पनि"
-------------------
दिन बित्यो
मुखभित्र हालेको बरफको एक टुक्रो झै
भुक्तानी भयो थप एक दिनपनि यो जिन्दगीको।
अाएथ्यो
साहुको टाउको जस्तो गोलो घामको भुङग्रो
भिजेको थाङ्ग्ना जस्तो समयलाई सुकाउन
सुँइकै नपाउने गरि गयो
छोडेर मेरा लावारिश सपनाहरुलाई म सँगै।
सम्झनाहरु कयौ पल्ट तरल भए होलान
अाँखाको अागनीमै बस्ने कोशीले
बगरझै यी गाला कयौ पल्ट भिजायो होला
तर रुझेन कहिल्यै पसिनाले मरुभुमि
न हिजो न अाज
अाज पनि उस्तै भयो।
मन्चहरु भत्केनन्
भाषणहरु रोकएनन्
कोपराहरु भरिएनन्
तिर्खाहरु मेटिएनन्
न त हातका रेखा लम्बिए
न त हत्केला नै फराकिलो भयो
यो घामले चौबिसै घण्टा म बस्छु भनेर ढिपी पनि गरेन
यो जुनले मेरो पालो भन्दै
हतार पनि गरेन
उस्तै भयो जस्तो हिजो भएको थियो
उस्तै रहे जस्तो हिजो थिए
तातो तौवामा थोपा पानी खन्याएजस्तै
बिलय भयो यो दिन पनि॥
©निरज

Comments

Post a Comment